
भारतको उत्तर प्रदेश मुजफ्फरनगर जिल्लामा एउटी १५ वर्षीया किशोरीको हृदयघातका कारण मृत्यु भएको छ ।
परिवारले छिमेकीको बिहेमा बजेको चर्को डिजेको आवाज र त्यसको कम्पन सहन नसकेर छोरीलाई हृदयघात भएको आरोप लगाएका छन् । पीडित परिवारले मुख्यमन्त्री योगी आदित्यनाथसँग न्यायको लागि गुहार लगाएका छन् ।
आजतकको रिपोर्टअनुसार यो घटना मुजफ्फरनगर जिल्लाको अहरोडा गाउँको हो । डिसेम्बर १२ मा गाउँकै एक परिवारमा बिहे थियो, जसका लागि ठुला–ठुला डिजे मगाइएका थिए ।
परिवारले लगाएको आरोपमा डिजेको चर्को आवाज र भारी बेसको कम्पन १५ वर्षीया राशीले सहन सकिनन् र उनको स्वास्थ्य अचानक बिग्रिएको भनिएको छ । परिवारले उनलाई उपचारका लागि मुजफ्फरनगर लगेका थिए, जहाँ उनको मृत्यु भयो । राशी कक्षा ९ की छात्रा थिइन् ।
राशीको मृत्युले परिवारमा शोक छाएको छ । मृतकका हजुरबुबा अजय पाल सिंहले गाउँमा यसअघि पनि चर्को डिजेको आवाजका कारण मानिसहरूको ज्यान गएको दाबी गरेका छन् ।
उनको आरोप छ– डिजेको चर्को आवाज सामान्य मानिसहरूका लागि आतंक बनेको छ । उनले भने, ‘आवाज यति चर्को थियो कि जनावरहरूले पनि खम्बा उखेलेका थिए । यसअघि पनि तीन–चार पटक डिजेको आवाजले गाउँका धेरै मानिसहरूको ज्यान गइसकेको छ । गाउँमै एक मनवीर मास्टर थिए, उनको पनि डिजेको चर्को आवाजले मृत्यु भएको थियो ।’
यद्यपि डिजेको चर्को आवाजका कारण हृदयघात भएको हो वा होइन भन्ने पुष्टि भने भएको छैन । परिवारले यस मामिलामा प्रहरीमा कुनै उजुरी दर्ता नगरी बालिकाको अन्तिम संस्कार गरिसकेका छन्।
पीडित परिवारले मुख्यमन्त्री योगी आदित्यनाथसँग बिहे तथा अन्य समारोहहरूमा बज्ने चर्को डिजेमाथि कडा नियन्त्रण लगाउन माग गरेका छन् ।

