
झापा — झापाको शिवसताक्षी–१० माईधारका सरोज शर्माको हत्या गर्ने आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका दुईजनामध्ये राहुल शाह र सुनिल शाह नाताले मामा–भान्जा हुन्।
प्रहरीका अनुसार उनीहरूले शर्मालाई “हामीले माटोमुनि सुन गाडेका छौं, निकालेर काठमाडौसम्म लिएर बेच्नुपर्छ” भनेर झुक्याएका थिए। त्यसै बहानामा उनीहरू शर्मालाई झापा गाउँपालिकास्थित हुलाकी मार्ग अन्तर्गतको बिरिङ पुलमुनि लगेर हत्या गरी त्यहीँ गाडेर छोडेका थिए।
हत्या पश्चात् शर्माले चलाउने गाडी उनीहरूले निचाझोडा सामुदायिक वनमा लगेर जलाएका थिए। वनमा आगो लागेको गाडी र घटनास्थलमा भेटिएको एक चप्पलको आधारमा प्रहरीले मोबाइल कल डिटेल्सलगायतका प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा प्रहरीले हत्याराको पहिचान गरी उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

