
झापाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा गएराती आगलागी हुँदा दुई घर र एक पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट स्थानीय चन्द्र नायकको किराना पसल र रेखा ढकालको घर जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागी राति करिब १० बजे तिर सुरु भए पनि के कारणले भएको हो भन्ने यकिन हुन सकेको छैन । आगो तीव्र रुपमा फैलिदा नजिकै रहेका राजेन्द्र ढकालको घरमा पनि पूर्ण क्षति पुगेको र त्रिभुवन आदर्श पुस्तकालयमा आंशिक क्षति पुगेको बताइएको छ ।
गौरादह नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाबाट आएका दमकलसहित स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब डेढ घण्टापछि अर्थात् राति ११.३० बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

