
जुम्ला । जुम्लामा यस वर्षको दशैँमा १० करोड रुपैयाँभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष १० करोड रुपैयाँ रकम बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिए ।
उनका अनुसार भेडा खरिद विक्री नौ करोड ३४ लाख ८८ हजार रुपैयाँको भएको छ । यस्तै ३७ लाख ४० हजारको खसी, बोका खरिद बिक्री भएको हो । चन्दननाथ नगरपालिकामा भने २६ लाख ७७ हजारको राँगा, भैँसीसमेत कारोबार भएको छ । यस वर्षको दसैँमा जुम्लामा पाँच हजार ८४३ वटा भेडा बिक्री भएको तथ्याड्ढ छ । यसैगरी, २५६ खसी र ६३ राँगा, भैँसी खरिद बिक्री भएको छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार रुपैयाँ, न्यूनतम मूल्य नौ हजार रुपैयाँ र औसत मूल्य १६ हजार रुपैयाँ तोकिएको प्रमुख रावतले जानकारी दिए ।
त्यस्तै, खसीको अधिकतम मुल्य २२ हजार रुपैयाँ, न्यूनतम मुल्य आठ हजार र औसत मूल्य १५ हजार रुपैयाँ रहेको छ भने राँगो, भैँसीको अधिकतम मुल्य ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य ४२ हजार ५ सय रुपैयाँ रहेको थियो । जुम्लामा मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा, राँगा, भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरका खसी, भेडा, राँगा, भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाले जनाएको छ ।
– आर्थिक दैनिक

