
छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु मानवीय कर्तव्य हो भन्ने भावनालाई आत्मसात गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफूसँग रहेका तीन सवारी साधनमध्ये दुईवटा सवारी साधन सहयोगस्वरूप उपलब्ध गराएको छ।
गाउँपालिकाका अनुसार मे १ झ १४७ नम्बरको स्कार्पियो गाडी गाउँपालिकाले आफ्नै स्रोतबाट खरिद गरेको हो। बाँकी दुई गाडीमध्ये गौरादह नगरपालिकालाई प्रदान गरिएको बा.१ झ ८४८६ नम्बरको स्कार्पियो संसद सचिवालयमार्फत अघिल्लो स्थानीय सरकारलाई उपलब्ध गराइएको थियो।
त्यस्तै, दमक नगरपालिकालाई हस्तान्तरण गरिएको प्रदेश १–०१÷००१ झ २७६ नम्बरको सवारी साधन जलेश्वर भन्सारमा रहेको र अर्थ मन्त्रालयको सिफारिसमा गाउँपालिकालाई उपलब्ध गराइएको थियो।
यसअघि, कोशी प्रदेश सरकारबाट विपद्को समयमा प्रयोग गर्नका लागि अघिल्लो स्थानीय सरकारलाई प्राप्त प्रदेश १–०२–००१ झ ०७३० नम्बरको प्रहरी भ्यान गत असोज १० गते इलाका प्रहरी कार्यालयलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले सवारी साधन मात्र नभई पालिकामा कार्यरत करार कर्मचारीहरूको तलब पनि रोक्का गरेको जनाएको छ।
जेनजी आन्दोलनपछि देशभर भएको आर्थिक क्षतिलाई व्यवस्थापन गर्न नेपाल सरकारको परिपत्रअनुसार स्थानीय तहहरूलाई मितव्ययी खर्च नीतिमा जोड दिन भनिएको थियो। सोही निर्देशनअनुसार कमल गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णयले आवश्यक परे पुनः फिर्ता लिने सर्तसहित दमक र गौरादह नगरपालिकालाई सवारी साधन उपलब्ध गराएको हो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालयका सवारी साधनमा तोडफोड र आगजनी भएका थिए। सोही क्रममा दमक र गौरादह नगरपालिकाका कार्यालय र सवारी साधनसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
विपद्को अवस्थामा गरिएको सहयोगप्रति गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी र दमक नगरपालिकाकी उप–मेयर रेगिना भट्टराई प्रसाईंले कमल गाउँपालिकाप्रति आभार प्रकट गर्नुभएको छ।


