ग्रामीण महिलाका लागि वरदान सावित, कमल नगर अस्पतालको एम्बुलेन्स सेवा

झापा – कमल गाउँपालिका–०२ स्थित कमल नगर अस्पतालले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क एम्बुलेन्स सेवा निरन्तर सञ्चालन गरिरहेको छ। ओम आदि फाउन्डेसनको सहयोगमा उपलब्ध यो सुविधा २४ घण्टा कार्यान्वयनमा छ।
अस्पतालका अनुसार गर्भवती र सुत्केरी महिलाले प्रसूति सेवाका लागि कुनै शुल्क नतिरी अस्पताल आउन–जान सक्नेछन्। यसले विशेषगरी टाढा–टाढा बस्ने महिलालाई सुरक्षित मातृत्व सेवामा सहज पहुँच बनाउन मद्दत गरेको छ। गत आर्थिक वर्षमा मात्र १३० महिलाले निःशुल्क एम्बुलेन्स सुविधा उपयोग गरेका थिए भने अन्य नागरिकले पनि सुलभ दरमा सेवा लिन पाएका छन्।
कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालन समितिका अध्यक्ष हुकुम सिंह राईका अनुसार यो सेवाले ग्रामीण महिलालाई समयमै अस्पतालसम्म पुग्न सहयोग गरेको छ र मातृ–शिशु मृत्यु दर घटाउन योगदान दिनेछ। प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले एम्बुलेन्स उपलब्ध गराएको ओम आदि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यसले समुदायमा स्वास्थ्य सेवामा पहुँच बढाएको बताए।
अस्पतालले सुरक्षित मातृत्व प्रवर्द्धनका लागि सामान्य प्रसूति सेवा, नवजात शिशु तथा आमाको स्वास्थ्य निगरानी, चिकित्सकको सम्पर्कमा उपचार सुविधा र पीएनसी होम भिजिट कार्यक्रमजस्ता सेवाहरू पनि सञ्चालन गर्दै आएको छ। स्थानीय बासिन्दा सुजन देवानका अनुसार यो सेवाले मातृत्व स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ।
कमल–०२ वडा अध्यक्ष अशोक सुब्बाले निःशुल्क एम्बुलेन्स सेवाका कारण गर्भवती आमालाई सहजै अस्पताल ल्याउन सकिने भएको बताउँदै यसले समुदायमा विश्वास बढाएको प्रतिक्रिया दिएका छन्। अध्यक्ष राईले ज्येष्ठ नागरिक, गरिब र असहायका लागि समेत यो सुविधा वरदान सावित भएको बताए।
एम्बुलेन्स सेवाका लागि संगम राईसँग ९७४५८७३३८१ वा ९८२५९०५६६५ मा सम्पर्क गर्न सकिन्छ। कमल नगर अस्पताल, तोपगाछी (झापा) को सम्पर्क नम्बर ०२३–४७५०५९ हो।
२४ स घण्टा एम्बुलेन्स सेवा कमल गाउँ पालिकाद्वारा
