
झापा । गौरादह नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिलिप भण्डारीले भूमिहिनको जग्गा हडपेको पाइएको छ ।भूमिहीन तथा अव्यवस्थित बसोबास गर्नेहरुको सुचिमा उक्त जग्गाको भोगचलन गर्नेमा भण्डारीका भान्जा सरोज कडरियाको नाम प्रकाशित भएपछि उक्त रहस्य खुलेको हो ।
जगदीश कर्माकारको उमेर अहिले ५८ बर्षको छ । उनी केटाकेटी अबस्थादेखि परिवारका अन्य सदस्यसंग उक्त गाउँ ब्लक जग्गामा बसोबास गर्दै आएका थिए । ५/६ बर्ष अगाडि नै आर्थिक समस्यामा परेका उनलाई १ लाख ४० हजार रुपैयाँ दिएर धनिपुर्जा नभएको उक्त जग्गा छोडाएका थिए । हाल उनी छोराले कमल गाउँपालिकाको सडङपाडा भन्ने स्थानमा बनाएको टहरोमा बस्दै आएका छन् ।
यस बिषयमा जिज्ञासा राख्दा कर्माकारले भने ` त्यतिबेला पैसाको समस्या परेको थियो दिलिप सरसंग कुरा हुदा मेरो ड्राइभरलाई पनि घरबस्न जग्गा चाहिएको छ , तिम्रो जग्गा मिलाएर देउ भन्नुभयो , मैलेपनि म जस्तै गरिबको उद्धार होस् भनेर १लाख ४० हजार मै जग्गा छोडिदिए अहिले उहाँको भान्जाको नाममा जग्गा गयो रे भनेर सुने म आफै छक्क परिरहेको छु । म आफू यहाँ छोराको टहरोमा मुस्किलले बसेको छु ।´
वडाध्यक्ष भण्डारीले आफ्नो ड्राइभरलाई घर बनाउन जग्गा नपाएको भनि `उ पनि सुकुम्बासी नै हो उसको पनि उद्धार हुन्छ´ भनेर झुक्याएर सस्तोमा जग्गा लगेर आफ्नो भान्जा सरोज कडरियाको नाममा दर्ता गर्न खोजेको कर्माकारको दाबी छ ।
सुरुमा आफुले हैन भान्जाले जग्गा किनेको भनेर दाबी गरेका वडाध्यक्ष भण्डारीले पछि ओमकार टाइम्स प्रतिनिधिसंग स्विकार्दै भने `हो मैले नै मेरो भान्जालाई उक्त जग्गा किनिदिएको हुँ । भान्जाको जग्गा जमिन थिएन अनि उनको लागि किनेको हो । जग्गाको मूल्य चाही ठ्याक्कै थाहा भएन । २ लाख ५० हजार हो कि !´
नेकपा एमाले पार्टीका तात्कालिक स्थानीय कार्यकर्ता भण्डारी गत स्थानीय चुनावमा पार्टीले टिकट नदिएपछि रुष्ट भएर स्वतन्त्र उमेदवार बनेर वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।पछि पुनः एमाले पार्टीमा प्रवेश गरेपछि मतदातालाई `धोका दिएको´ भनेर भण्डारीको चर्को आलोचना भएको थियो ।


