
झापा । गौरादह नगरपालिकामा सडक बत्तीको विषयले ठूलो विवाद उठाएको छ । सर्वसाधारणले महसुल बुझाइरहेको अवस्थामै सडक बत्तीका मीटरहरू हटाइएपछि टोल–बस्ती अन्धकारमा डुबेका छन् । स्थानीयवासीले राति दुर्घटना, चोरी–डकैती तथा असुरक्षाको भय बढेको भन्दै आक्रोश पोखिरहेका छन् ।
नगरपालिकाको पत्रका आधारमा बत्ती हटाइएको भन्दै विद्युत प्राधिकरणले औचित्य जोगाउने प्रयास गरे पनि यसले गम्भीर नैतिक प्रश्न खडा गरेको छ । यदि नगरकै आदेशमा सबै मीटर हटाइएको हो भने, नेताहरूको घर वरपरका बत्ती अझै किन बलिरहेका छन् भन्ने प्रश्न उठेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की, संविधानसभा सदस्य दीपक कार्की र गौरादह–१ का वडाअध्यक्ष नगेन्द्र भण्डारी बसोबास गर्ने टोलमा भने सडक बत्ती यथावत छन् । त्यहाँ मीटर उठाउने साहस विद्युत प्राधिकरणले देखाएको छैन । यसले निर्णय ‘समान व्यवहार’ नभई सर्वसाधारणलाई अन्धकारमा धकेली नेताहरूलाई विशेष सुविधा दिने दोहोरो मापदण्ड भएको स्पष्ट पारेको छ ।
गौरादह विद्युत वितरण केन्द्रका अनुसार नगरपालिकाले आफ्नो नाममा रहेका ५२/५३ वटा लगत खारेज गरेको र अब नगरले बिजुलीको भुक्तानी नगर्ने भएकाले मीटर हटाइएको हो । केही मिटर हटाइसकिएको र पालिकाले उपलब्ध गराएको सूचीअनुसार अझै केही हटाउन बाँकी रहेको समेत जनाएको छ । बत्ती पुनः जडान गर्न उपभोक्ताले आफ्नो नाममा राखी भुक्तानी गर्नुपर्ने प्राधिकरणले प्रष्ट पारेको छ ।
यसै प्रसङ्गमा गौरादह–१ का अनिश कार्कीले भने, “बिना सूचना र बिना जानकारी, महसुल बुझाइरहेको अवस्थामै सडक बत्ती निभाउनु पूर्णतया गैरजिम्मेवारी हो । यसले आम सर्वसाधारणलाई असुरक्षित बनाएको छ ।”
यस्तै, लोकेश बस्नेतले भने, “चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्र अन्धकारमय बनाउनु सरासर अन्याय हो । चोरी–डकैतीका घटना दिनानुदिन बढिरहेको बेला नेताहरूको टोलमा बत्ती बल्ने र जनसाधारणको टोलमा निभ्ने अवस्थाले शासन–प्रशासनको दोहोरो मापदण्ड प्रष्ट देखाएको छ । तत्काल समाधान खोजिनुपर्छ ।”
चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्र अन्धकारमय बनेको र नेताहरूको टोल उज्यालोमै रहेको अवस्था अन्यायपूर्ण तथा असमान व्यवहार भएको भन्दै स्थानीयवासीले तत्काल समाधान खोज्न माग गरेका छन् ।

