
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गौरादह नगर अध्यक्ष जगत अधिकारी पक्राउ परेका छन् । गौरादह नगरपालिका–५ स्कुलचौनस्थित सत्कार होटलमा तास खेलिरहेको अवस्थामा गौरादह–३ निवासी अधिकारीसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।
होटलमा तास लगायतका जुवाजन्य खेल चलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले गएराति छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले जुवा खेल्ने खालबाट नगद १ लाख ६ हजार ६२० रुपैयाँ र तीन बुङ तास बरामद गरेको प्रहरी निरीक्षक नविन राईले जानकारी दिए ।
पक्राउ पर्नेमा रास्वपा गौरादह नगर अध्यक्ष अधिकारी, सोही पार्टीका गौरादह–४ का वडा सभापति युबराज खड्का, स्थानीय भरत कार्की, हृदय सुवेदी, टंक बराल, सुन व्यवसायी राम फुयाल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, बिनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ र सुदिप चेम्जोङ रहेका छन् ।
प्रहरीका अनुसार सो होटलमा लामो समयदेखि जुवाजन्य प्रतिवन्धित खेल सञ्चालन हुँदै आएको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको र उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

