Homeस्थानियक्षितिज इङलिस बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा एसईई उत्तीर्ण विद्यार्थीको भव्य विदाइ

क्षितिज इङलिस बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा एसईई उत्तीर्ण विद्यार्थीको भव्य विदाइ

Date:

बनेपा । बनेपा नगरपालिका–७ मा अवस्थित क्षितिज इङलिस बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरूको विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्याबसन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले विद्यार्थीहरूले लुक्सभन्दा बुक्समा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै, “जति किताबमा शिर झुकाउन सकिन्छ, भोलि समाजले त्यति नै सम्मानका साथ तपाईंको अगाडि शिर झुकाउनेछ” भन्नुभयो।

त्यसैगरी, विद्यालय सञ्चालन समितिका सदस्य हरिगोपाल प्रधानले शिक्षक तथा कर्मचारीहरूको मनोबल उच्च राख्न तलब वृद्धि गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो।
सोही अवसरमा ‘क्षितिज दीप’ नामक पुस्तकको चौथो अंक समेत विमोचन गरिएको थियो।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सविता दंगालले क्षितिज इङलिस बोर्डिङ स्कुल बालबालिकामा निहित प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै, खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको अन्तरनिहित क्षमतालाई उजागर गर्ने बताउनुभयो।

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

कार्यक्रमको सभाध्यक्षता सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष उदयराम कायष्ठ तथा संस्थापक संरक्षक गोविन्दलाल प्रधानको समेत उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक लिलाधर पौडेलले विद्यालय शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी रहेको बताउँदै, जिल्लास्तर, प्रदेशस्तर तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिनुभयो। उहाँले विद्यालयले प्रविधिको उच्चतम प्रयोग, नविन सोचको विकास र विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको उल्लेख गर्नुभयो।

वार्षिकोत्सव तथा विदाइ कार्यक्रमलाई सांस्कृतिक प्रस्तुति, नृत्य तथा विविध कार्यक्रमहरूले थप आकर्षक र उल्लासमय बनाएको थियो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here