
सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्र बिहीबार बिहानदेखि तनावग्रस्त बनेको छ। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन्।
बिहीबार (पुस १७) बिहान करिब १ः१० बजे कोसी–१ को पुरी टोल क्षेत्रमा सिटी सफारीमार्फत तस्करीको सामान ल्याइँदै गरेको आशंकामा सशस्त्र प्रहरी टोलीले रोक्न खोज्दा झडपको स्थिति सिर्जना भएको बताइएको छ। सशस्त्र प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि आक्रमण गर्ने प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको थियो।
घटनामा गम्भीर घाइते भएका विजय साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
घटनापछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गर्नुका साथै दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर समेत गरेको जनाइएको छ। हाल उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न संयमता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन प्रक्रिया अगाडि बढाइएको जनाउँदै प्रशासनले दोषी देखिए कानुनी कारबाही गरिने आश्वासन दिएको छ।

