Homeसमाचारकोशी प्रदेशकै पहिलो ‘घुम्ती अस्पताल’ कमल नगर अस्पतालमा, मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सहभागी

कोशी प्रदेशकै पहिलो ‘घुम्ती अस्पताल’ कमल नगर अस्पतालमा, मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सहभागी

Date:

कमल, झापा । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गर्दै कोशी प्रदेश सरकारको महत्वाकाङ्क्षी कार्यक्रम ‘कोशी प्रदेश सरकारको घुम्ती अस्पताल’ अन्तर्गत प्रदेशकै पहिलो मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविर कमल नगर अस्पतालमा सञ्चालन हुने भएको छ।

उक्त ऐतिहासिक स्वास्थ्य शिविर २०८२ साल पौष २५ गते शुक्रबार आयोजना हुने निश्चित भएको हो। प्रदेश सरकारको यस कार्यक्रमलाई स्वास्थ्य सेवामा पहुँच विस्तार, प्रारम्भिक रोग पहिचान तथा जनस्वास्थ्य सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कोशी प्रदेशकै पहिलो कार्यक्रम कमल नगर अस्पतालबाट सुरु हुन लागेकाले स्थानीयवासीमा विशेष उत्साह देखिएको छ।

मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीको विशेष उपस्थितिमा उद्घाटन
‘कोशी प्रदेश सरकारको घुम्ती अस्पताल’ स्वास्थ्य शिविरको औपचारिक उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईको विशेष उपस्थिति रहनेछ। प्रदेश सरकारका उच्च तहका नेतृत्वको सहभागिताले कार्यक्रमको महत्व अझै बढाएको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले कोशी प्रदेशकै पहिलो ‘घुम्ती अस्पताल’ कार्यक्रम कमल नगर अस्पतालबाट सुरु हुन लागेकोमा खुशी व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीको प्रत्यक्ष उपस्थितिमा कार्यक्रम सञ्चालन हुनु स्थानीय तहका लागि गौरवको विषय भएको उहाँको भनाइ छ।

अध्यक्ष राईका अनुसार यस कार्यक्रमले स्थानीय नागरिकलाई घरआँगनमै गुणस्तरीय, विशेषज्ञ तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेछ भने अस्पतालप्रति जनविश्वास थप मजबुत बनाउनेछ।

कार्यक्रमलाई प्रभावकारी र सफल रूपमा सञ्चालन गर्न कमल नगर अस्पतालमा योजना तथा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा उद्घाटन व्यवस्थापन, सेवा प्रवाह प्रणाली, जनशक्ति परिचालन, उपकरण व्यवस्थापन तथा सेवाग्राही व्यवस्थापनबारे विस्तृत छलफल गरी समग्र कार्ययोजना तयार गरिएको छ।

बैठकमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्तेन, जनस्वास्थ्य प्रशासक रमेश बराकोटी, अस्पताल नर्सिङ प्रशासक आस्था थापा, जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख बिनु थापा, जनस्वास्थ्य निरीक्षक कुशल श्रेष्ठ, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती, अस्पताल प्रमुख दिपक प्रसाद दाहाललगायत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

सोही दिन कमल नगर अस्पतालमा Artificial Intelligence (AI) प्रविधिमा आधारित Digital X-Ray सेवा समेत सञ्चालन हुने कमल–२ का वडा अध्यक्ष अशोक सुब्बाले जानकारी दिनुभएको छ। यस सेवाबाट क्षयरोग, फोक्सो तथा छातीसम्बन्धी रोगहरूको छिटो, प्रभावकारी र विश्वसनीय पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मोबाइल घुम्ती अस्पतालबाट उपलब्ध हुने सेवाहरू स्वास्थ्य शिविरमार्फत नागरिकहरूलाई निःशुल्क रूपमा नसर्ने रोग (NCD) स्क्रिनिङ, रक्तचाप जाँच, पिसाब परीक्षण, BMI मापन, मधुमेह (
सुगर) जाँच, थाइराइड जाँच, मुटु परीक्षण (ECG, Echo), हड्डी तथा नसासम्बन्धी रोगको जाँच र विशेषज्ञ परामर्श आवश्यक औषधि निःशुल्क वितरण गरिनेछ।

मोबाइल घुम्ती अस्पताल स्वास्थ्य शिविरले कमल नगर अस्पताललाई सेवा, प्रविधि र जनशक्तिको दृष्टिले थप सुदृढ बनाउने विश्वास गरिएको छ। प्रदेशस्तरीय विशेषज्ञ सेवा, आधुनिक उपकरण र नयाँ प्रविधिको प्रयोगले अस्पतालको सेवा गुणस्तर, क्षमता र पहिचान थप उकासिने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै रोगको प्रारम्भिक पहिचान, समयमै उपचार तथा जनस्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here