
काभ्रे । नेपाली कम्युनिस्ट पार्टी काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार बसुन्धरा हुमागाईले चुनावी प्रचार–प्रसारका क्रममा अन्य दलप्रति आक्षेप नलाग्ने गरी संयमित भाषा प्रयोग गर्न आग्रह गर्नुभएको छ।
काभ्रे निर्वाचन क्षेत्र नम्बर–१ मा आयोजित चुनावी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हुमागाईले नेता तथा कार्यकर्तालाई अन्य दलप्रति गाली–गलौज नगर्न निर्देशन दिनुभयो। उहाँले मतदातामाझ पार्टीको एजेन्डा, आफू कृषि मन्त्री हुँदा गरेका कामहरू तथा भदौ २३ र २४ गते घटेका वास्तविक घटनाक्रम स्पष्ट रूपमा प्रस्तुत गरिने बताउनुभयो।
ठूला सभा तथा कार्यक्रमलाई सीमित गर्दै सातवटै पालिकामा तारा चिन्ह र उम्मेदवारको परिचय गराउने उद्देश्यसहित घरदैलो अभियानलाई प्राथमिकता दिन पार्टी मातहतका नेता – कार्यकर्तालाई उहाँले अनुरोध गर्नुभयो।
हुमागाईले काभ्रे निर्वाचन क्षेत्र नम्बर–१ र २ दुवै क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्दै पूर्ण आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएको बताउनुभयो।

