कमल–७ मा विद्यार्थी स्वास्थ्य परीक्षण अभियान प्रारम्भ

झापा । झापाको कमल गाउँपालिका–७ मा सञ्चालनमा रहेका विद्यालयका विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–७ को आयोजनामा तथा आमा डेण्टल केयर क्लिनिक दमकको प्राविधिक सहयोगमा यो कार्यक्रम अगाडि बढाइने भएको हो।
स्वास्थ्य सेवा केन्द्रका प्रमुख अमृत सुब्बाका अनुसार, वडा नम्बर ७ भित्र रहेका सामुदायिक ४ र संस्थागत ३ गरी कुल ७ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको विद्यालयमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ। यस पटकको स्वास्थ्य परीक्षणमा विशेषगरी दन्त स्वास्थ्य जाँचका लागि आमा डेण्टल केयरको प्राविधिक टोली खटिने छ।
“हामीले विगतमा पनि प्रत्येक महिना नियमित रूपमा विद्यालयस्तरीय स्वास्थ्य परीक्षण गर्दै आएका छौँ। यस पटक आमा डेण्टलको प्राविधिक सहयोगमा दाँत सम्बन्धी थप सेवा उपलब्ध गराइनेछ,” प्रमुख सुब्बाले जानकारी दिनुभयो।
कार्यक्रम अन्तर्गत विद्यार्थीको मुख, दाँत, आँखा तथा सामान्य स्वास्थ्य अवस्थाको परीक्षण गरिनेछ। आवश्यकता अनुसार प्राथमिक उपचार प्रदान गर्ने र गम्भीर स्वास्थ्य समस्या देखिएमा सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था पनि रहने केन्द्रले जनाएको छ।
यस प्रकारको विद्यालयमै पुगेर हुने स्वास्थ्य परीक्षणले अभिभावकलाई स्वास्थ्य परीक्षणका लागि छुट्टै समय र खर्च गर्नुपर्ने झन्झट कम हुने, बालबालिकामा स्वास्थ्य सचेतना बढ्ने र रोगको समयमै निदान गर्न सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ।