HomeUncategorizedकमल नगर अस्पतालले आँखा सेवा विस्तार गर्दै, सेवा सुधारका महत्वपूर्ण निर्णय

कमल नगर अस्पतालले आँखा सेवा विस्तार गर्दै, सेवा सुधारका महत्वपूर्ण निर्णय

Date:

कमल । कमल नगर अस्पताल व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले अस्पतालको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै स्थानीयवासीलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बसेको बैठकले अस्पतालले हाल प्रदान गर्दै आएको सेवा, विस्तार हुन लागेको कार्यक्रम तथा सेवा सुधारका उपायहरूबारे विस्तृत चर्चा गरेको थियो।

बैठकले विशेष रूपमा आँखा जाँच तथा सम्बन्धित परिक्षण सेवा सुरु गर्ने निर्णय गरेको छ। मानसिक स्वास्थ्य तथा दन्त सेवाजस्ता नियमित विशेषज्ञ सेवा प्रभावकारी देखिएको कारण, आगामी दिनमा यी सेवालाई थप सुदृढ गर्ने र नेत्र–सम्बन्धी जाँच, परामर्श तथा आवश्यक उपचार सेवा शीघ्र सञ्चालन गर्ने तयारी थालिएको समितिले जनाएको छ। अस्पतालले हप्तामा दुई दिन दन्त सेवा र मासिक रूपमा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष राईका अनुसार आँखा सेवा विस्तारका लागि आवश्यक उपकरण, पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया सुरु भइसकेको छ। उनले स्थानीयवासीले आँखा उपचारका लागि अन्य स्थानमा जानुपर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गरे।

अस्पताल प्रमुख दीपक दाहालका अनुसार आगामी दिनमा अस्पतालको सेवा प्रणालीलाई प्रविधिमैत्री बनाइनेछ। बिरामी दर्तादेखि परामर्श तथा रिपोर्टिङसम्मको प्रक्रिया सहज बनाइने, दक्ष जनशक्ति तथा आवश्यक विशेषज्ञ थपिने, सेवा कक्ष विस्तार गरेर आधुनिक उपकरणहरू जडान गरिने, साथै सेवाग्राही–मैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइने उनको भनाइ छ। दाहालले स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा सुधार र नयाँ कार्ययोजना लागू गर्न अस्पताल निरन्तर सक्रिय रहने बताए।

अस्पताल व्यवस्थापन समितिले उपचारका लागि स्थानीयवासी टाढासम्म धाउन नपरोस् भन्ने उद्देश्यले आगामी दिनहरूमा थप विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि सारेको छ। यसका लागि बाहिरी विशेषज्ञसँग समन्वय, आवश्यक सेवा अनुबन्धन तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई विस्तार गर्ने विषयमा बैठकले विशेष जोड दिएको छ।

बैठकले कमल नगर अस्पताललाई गाउँपालिकाको ‘मूल स्वास्थ्य केन्द्र’ का रूपमा विकसित गर्दै, गुणस्तरीय सेवा प्रवाह र दीर्घकालीन स्वास्थ्य संरचना मजबुत बनाउन निरन्तर काम गर्ने निष्कर्षसहित बैठक सम्पन्न भएको जनाएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here