कमल नगर अस्पताललाई संघीय–प्रदेश सरकारको स्वास्थ्य सामग्री हस्तान्तरण, अध्यक्ष हुकुम सिंह राईको पहलमा सेवा विस्तार

कमल गाउँपालिकामा सञ्चालित सरकारी स्वामित्वको कमल नगर अस्पताललाई स्वास्थ्य सेवा विस्तारका लागि संघीय तथा प्रदेश सरकारबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्री आइतबार अस्पताललाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले अस्पतालका मेडीकल सुपरिन्टेन्ड डा. फुलकचन्द्र लावोतीलाई ति सामग्री हस्तान्तरण गर्नुभयो ।
भाद्र तेस्रो साता तत्कालिन संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विशेष चासो र महत्वसाथ उपलब्ध गराउनु भएका स्वास्थ्य उपकरणहरु डेण्टल चियर, डेण्टल कम्प्रेसर, अक्सिजन सिलिण्डर, डेन्टल ईन्सटुन्र्समेन्ट सेट, मेडिकेशन स्टेन, ए.आर.ई. साउण्ड टाईमर, सेन्ट्रिफ्यू मेसिन, पाईपपेट स्टेन र पल्स अक्सिमिटर (हेन्ड हेल्ड) कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले कमल नगर अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो ।
संघीय सरकारले अस्पताललाई दन्त उपचारदेखि अस्पतालको प्रयोगशाला परिक्षणमा आवश्यक विभिन्न सामाग्री उपलब्ध गराएको थियो ।
असोज ५ गते कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार बिकाश तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले पनि आधुनिक प्रयोगशाला र आकस्मिक उपचारमा उपयोगी उपकरण उपलब्ध गराउनुभएको छ । सेमि अटो एनालाइजर मेसिन (१ थान) र अक्सिजन कन्सन्ट्रेटर (१ थान) उपलब्ध गराउनु भएको हो । त्यस्तै, चाँडै माइक्रोस्कोप मेसिन पनि उपलब्ध गराइने मन्त्री राईले प्रतिवद्धता जनाउनुभएको छ । हालैको जेनजी आन्दोलनका कारण प्रदेश सरकारको भौतिक संरचनामा क्षति पुगेको भए पनि पालिका अध्यक्ष राईको निरन्तर पहल र सक्रियताका कारण सामग्री प्रदेश सरकारले ति सामग्री उपलब्ध गराएको हो । यसले कमल गाउँपालिकावासीहरूका अतिरिक्त छिमेकी पालिकाका बासिन्दाहरुलाई पनि सरकारी स्वास्थ्य सेवा उपयोगमा सहयोग पुग्ने अस्पताल सञ्चालक समिति सदस्य समेत रहनु भएका कमल २ का वडाध्यक्ष अशोक सुब्बाले बताउनु भयो ।
प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरणका क्रममा अध्यक्ष राईले संघीय र प्रदेश सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “कमल नगर अस्पताललाई सबल बनाउन यी उपकरणहरूले महत्वपूर्ण योगदान गर्नेछन् । यसले कमलवासी नागरिकले गाउँमै गुणस्तरीय र विश्वासिलो स्वास्थ्य सेवा दिन थप मद्धत पुग्ने विश्वास छ । ”
उहाँले कमल नगर अस्पताल दिनप्रतिदिन सबल रुपमा अघि बढेको पनि उल्लेख गर्नुभयो । स्थानीयवासीलाई गाउँमै उपचार सम्भव हुने विश्वास दिलाउनुका साथै जनतामा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको उहाँको भनाई छ ।
