
कमल, झापा । कमल नगर अस्पतालमा आज बिहान ५:१५ बजे एक सुस्वस्थ नवजात शिशुको सुरक्षित रूपमा जन्म भएको छ। अस्पतालको २४ घण्टे बर्थिङ सेन्टरमा उपलब्ध दक्ष जनशक्ति, गुणस्तरीय सेवा र प्रभावकारी व्यवस्थापनका कारण सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
अस्पताल बर्थिङ सेन्टरमा कार्यरत अनमी अन्जना सापकोटाका अनुसार उक्त प्रसुती अनुभवी तथा प्रशिक्षित नर्सिङ टोलीको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको हो। गर्भवती महिलाको नियमित निगरानीदेखि प्रसवको संवेदनशील समयसम्म स्वास्थ्यकर्मीहरूले उच्च व्यावसायिक जिम्मेवारी र मानवीय संवेदनाका साथ सेवा प्रदान गरेका थिए।
कमल नगर अस्पतालले चौबीसै घण्टा जुनसुकै निरन्तर सुरक्षित प्रसुती सेवा उपलब्ध गराउँदै आएको छ। गर्भावस्थाको प्रारम्भिक जाँचदेखि सुत्केरीपछिको हेरचाह र परामर्शसम्म स्वच्छ, सुरक्षित र स्नेहपूर्ण वातावरणमा सेवा प्रदान गरिँदै आएको अ.न.मी. सापकोटाले जानकारी दिनुभयो।
सुरक्षित प्रसुतीलाई अझ सहज बनाउन कमल गाउँपालिकाले निःशुल्क आपतकालीन एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। यस सेवाले आकस्मिक अवस्थामा गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अस्पतालले जनाएको छ।
त्यस्तै, कमल नगर अस्पतालमै सुत्केरी हुने महिलालाई प्रोत्साहनस्वरूप रु. ५,००० नगद आर्थिक सहयोग प्रदान गरिँदै आएको छ। यसले स्थानीय महिलाहरूलाई अस्पतालमै सुरक्षित सुत्केरी गराउन प्रेरित गरेको अस्पताल प्रशासनको विश्वास छ।
कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईले सुरक्षित प्रसुती सेवामा योगदान पुर्याउने सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आगामी दिनमा पनि गुणस्तरीय र जनमैत्री मातृ तथा नवजात सेवा निरन्तर प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो।
अस्पतालका अनुसार आर्थिक वर्ष ०८२/८३ मा हालसम्म यो आठौँ सुरक्षित प्रसुती सेवा हो। स्थानीयस्तरमै विश्वासिलो प्रसुती सेवा उपलब्ध हुँदा सेवाग्राहीको संख्या क्रमशः बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ।


