Homeस्थानियकमल नगर अस्पतालमा नर्सिङ्ग स्टाफका लागि MNH अपडेट तालिम सम्पन्न

कमल नगर अस्पतालमा नर्सिङ्ग स्टाफका लागि MNH अपडेट तालिम सम्पन्न

Date:

कमल, झापा । कमल नगर अस्पतालमा पुस ६, ७ र ८ गतेसम्म एसबिए (SBA) तथा नन–एसबिए बर्थिङ्ग सेन्टरमा कार्यरत नर्सिङ्ग स्टाफहरूलाई लक्षित गरी मातृ तथा नवजात शिशु स्वास्थ्य (MNH) अपडेट कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको वर्तमान अवस्थाको मूल्याङ्कन गर्नु, सेवा प्रवाहका क्रममा देखिएका कमजोरी तथा चुनौतीहरूको पहिचान गर्नु, साथै न्यूनतम सेवा मापदण्डअनुसार सेवा सुधारका उपायहरू अवलम्बन गर्नु रहेको थियो।

कार्यक्रममार्फत नर्सिङ्ग स्टाफहरूको ज्ञान, सीप तथा व्यवहारिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको अस्पताल प्रमुख दिपक प्रसाद दाहालले जानकारी दिनुभयो।

उक्त कार्यक्रम स्वास्थ्य कार्यालय, झापाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, कमल गाउँपालिका स्वास्थ्य शाखा, कमल नगर अस्पतालका चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागितामूलक छलफल, प्रस्तुतीकरण तथा व्यवहारिक सिकाइमार्फत कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्तिम दिन पुस ८ गते अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य शाखा तथा अस्पतालका सम्पूर्ण कर्मचारीहरूबीच मातृ तथा नवजात शिशु स्वास्थ्य सेवासम्बन्धी स्कोरिङ्ग प्रस्तुतीकरण गरिएको थियो। सो अवसरमा कार्यक्रमकी फोकल पर्सन विध्या न्यौपानेले कार्यक्रमको उद्देश्य, सेवा मापदण्ड तथा कमल नगर अस्पतालको वर्तमान सेवा अवस्थाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।

फोकल पर्सन न्यौपानेका अनुसार सीमित स्थान र सानो भौतिक संरचना हुँदाहुँदै पनि कमल नगर अस्पतालले शुद्ध खानेपानी, विद्युत् व्यवस्थापन, सरसफाइ, आधारभूत सुविधा तथा बिरामीमैत्री सेवा प्रवाहमार्फत सेवाग्राहीको भरोसा जित्न सफल भएको छ। उहाँले अस्पतालमा परिवार नियोजन सेवाको उपलब्धता थप विस्तार गर्न, आवश्यक उपकरण तथा पूर्वाधार सुधार गर्न सकिएमा बर्थिङ्ग सेन्टरका लागि तोकिएका सबै न्यूनतम गुणस्तर कायम गर्दै गुणस्तरीय सेवा निरन्तर प्रदान गर्न सकिने स्पष्ट पार्नुभयो।

कार्यक्रमको समापन सत्रमा अनमी अञ्जना सापकोटाले अस्पतालमा हाल सञ्चालन भइरहेका मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी गराउँदै तीनदिने कार्यक्रमले व्यवहारिक रूपमा महत्वपूर्ण ज्ञान र सीप हासिल गर्न सहयोग पुगेको बताउनुभयो। उहाँले प्राप्त ज्ञानलाई दैनिक सेवामा व्यवहारिक रूपमा लागू गरी देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here