
झापा । कमल गाउँपालिका वडा नं. ४ ले वडा कार्यालय तथा स्वास्थ्य कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुहुने दाताहरुलाई एक विशेष कार्यक्रमबीच सम्मान गरेको छ। स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दाताहरुलाई कदर स्वरूप सम्मान गरिएको हो।
आज नै कमल गाउँपालिकाले सञ्चालन गरेको १५ दिने सिलाई मेसिन मर्मत तालिम को समापन कार्यक्रम पनि सम्पन्न भएको छ। तालिमले स्थानीय युवायुवती तथा महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
त्यसैगरी केही दिनअघि जेष्ठ नागरिक दिवस का अवसरमा कमल गाउँपालिकाले ९० वर्ष माथिका बुवा–आमाहरुलाई सम्मान गर्दै खानेकुरा र न्यानो सिरक वितरण गरेको थियो।
जाडो मौसमका कारण तथा विभिन्न कारणले कार्यक्रम स्थलमा उपस्थित हुन नसक्ने जेष्ठ नागरिकहरुलाई भने गाउँपालिकाको टोलीले घर–घरमै पुगेर सम्मान तथा सामग्री वितरण गरेको छ।
कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले सामाजिक उत्तरदायित्व, सम्मान र सीप विकासलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालको पनि उपस्थिति रहेको थियो।
कमल गाउँपालिकाले सामाजिक समावेशिता, सीप विकास र जेष्ठ नागरिकको सम्मानलाई सँगसँगै अघि बढाउँदै उदाहरणीय कार्य गरिरहेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।




