HomeUncategorizedकमल ईसाई समाजले गरे केर्खा प्रहरी चौकी पुनर्निर्माण कार्य सम्पन्न

कमल ईसाई समाजले गरे केर्खा प्रहरी चौकी पुनर्निर्माण कार्य सम्पन्न

Date:

बिर बहादुर तामाङ, झापा । कमल गाउँपालिका–३, केर्खा बजारस्थित प्रहरी चौकी, जेन जी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड भएर ध्वस्त भएको थियो। आन्दोलनकारीहरूले प्रहरी चौकी, किचन र सिसी क्यामेरा कन्ट्रोल भवनका सम्पूर्ण झ्यालका सिसा तथा ढोका तोडफोड गरेका थिए।

सोही तोडफोडमा ध्वस्त भएका झ्यालका सिसा फेर्ने, ढोका मर्मत गर्ने र भवन रंगरोगन गर्ने कार्य कमल ईसाई समाजले सम्पन्न गरेको हो। पुनर्निर्माण सम्पन्न भएको उपलक्ष्यमा असोज ६ गते सोमबार चौकी अवलोकन तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरिएको थियो।

सामाजिक दायित्वस्वरूप प्रहरी चौकी पुनर्निर्माण गर्ने कार्यमा ईसाई समाज र प्रहरी चौकीबीच समन्वय तथा सहजकर्ताको भूमिका पा. विक्रम लिम्बुले निर्वाह गरेका थिए। भवन पुनर्निर्माण कार्यको जिम्मेवारी समाजका कोषाध्यक्ष एल्डर धिरज राईलाई दिइएको थियो। सो कार्य सम्पन्न गर्न करिब ५० हजार रुपैयाँ खर्च भएको थियो।

प्रेम सिसा तथा अल्मुनियम पसल, पाडाजङ्गीबाट आवश्यक सामग्री उपलब्ध गराइएको थियो भने पसलका सञ्चालक भोजकुमार बुढाथोकी (दीपक)ले ढोका मर्मत र सिसा फेर्ने काममा श्रमदान गरेका थिए। साथै, कमल ईसाई युवाहरूले भवनमा रंगरोगन गरी श्रमदान गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष अग्नि प्रसाद कोइराला, ईसाई समाजका अध्यक्ष प्रताप विक, प्रहरी हवल्दार कमल ठाकुर, समाजसेवी सलिना राई, सञ्चारकर्मी सरन बेघा, पत्रकारद्वय वीरेन्द्र याक्थुम्बा र बिर बहादुर तामाङसहित स्थानीय पास्टर तथा अगुवाहरूको उपस्थिति थियो।

उक्त अवसरमा वडा अध्यक्ष कोइरालाले ईसाई समाजले सामाजिक दायित्व पूरा गर्दै प्रहरीको मनोबल उच्च राखेको भन्दै धन्यवाद ज्ञापन गरे। समाजसेवी सलिना राईले “बिग्रिएको कुरा पुनःनिर्माण गर्नु ठूलो काम हो” भन्दै ईसाई समाजको योगदानप्रति कृतज्ञता व्यक्त गरिन्।

त्यसैगरी, पास्टर तथा पत्रकार बिर बहादुर तामाङले अहिलेको विषम परिस्थितिमा प्रत्येक नागरिकले आफ्नो ठाउँबाट सामाजिक दायित्व पूरा गर्दै सचेत नागरिक बन्नुपर्नेमा जोड दिए। उनले कमल ईसाई समाजले विगत डेढ दशकदेखि सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै धन्यवाद ज्ञापन गर्दै अझ अघि बढ्न प्रोत्साहन गरे।

अन्त्यमा समाजका अध्यक्ष प्रताप विकले सबैलाई सुरक्षित रहन स्वयं सचेत हुन आग्रह गर्दै सामाजिक कार्यमा साथ दिएका सबैप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको उनले बताए।

कार्यक्रमको सञ्चालन पा. विक्रम लिम्बुले गरेका थिए भने समाजका सचिव पा. दीपक राईले जानकारी दिएका हुन्।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here