
झापा । कमल गाउँपालिका २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयको आज ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बरालको अध्यक्षतामा र कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
बुधबार विद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाहरुलाई खादा र अविरसहित सम्मान तथा पुरस्कृत गरिएको थियो ।
वडा नम्बर २ को कार्यालयद्वारा उत्कृष्ट शिक्षकको रुपमा दोर्णप्रसाद लिम्बुलाई दोसल्ला ओढाएर नगदसहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो भने विद्यालयको तर्फबाट अनिल श्रेष्ठ र रङ्गनाथ गौतमलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी विद्यालयले प्रत्येक वर्ष एकजनालाई प्रदान गर्दै आइरहेको वर्षकै उत्कृष्ट विद्यार्थीको तर्फ राहुल राजवंशी (कक्षा १२) लाई नगदद्वारा पुरस्कृत गरिएको थियो ।
स्वर्गीय नेत्रबहादुर श्रेष्ठ कोषबाट २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट जिपिए ल्याउने खेममणी अधिकारी, जसमिन धिमाल, मलिन ईङ्गनाम र रश्मिका पौडेल, स्वार्गिय सोमनाथ रेग्मि छात्रवृत्ति कोषका कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने उमेश ढकाल र अनिषा गजमेर तथा श्रीमाया लिङदेन स्मृति कोषबाट सज्ञराज विश्वकर्मा र विवेक अधिकारीलाई नगदद्वारा पुरस्कृत गरिएको विध्यालयले जनाएको छ ।
त्यस्तै, तोपगाछी धरमपुर मैत्री समाजबाट २०८१ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याई कक्षा ११ मा अध्यायनरत मलिन ईङनाम, सुश्मिता विक, राजु (बस्नेत) र यशोदा दकाललाई छात्रवृत्ति बापत नगद १० हजार रुपैय प्रदान गरिएको मैत्री समाज सचिव यज्ञप्रसाद न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, पूर्व विद्यार्थी तथा पूर्व शिक्षक बन्धु निरौला लगायतको उपस्थिति थियो ।
सो कार्यक्रममा विद्यालयका शिक्षक तथा शिक्षिकाहरु र विद्यार्थीहरुले अलगअलग नृत्य टोलीले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रधानध्यापक दाहालले विद्यालय स्थापनादेखि हालसम्मका अवस्था, स्थापनादेखि हालसम्मका प्रधानध्यापकहरु, शिक्षक, शिक्षिकाहरु, व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरुको बारेमासमेत प्रतिवेदनमा चित्रण गर्नुभएको थियो ।
विद्यालयका शिक्षक याम प्रधानले सञ्चालन र सहायक प्रधानाध्यापक ईश्वरीप्रसाद दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सहभागीलाई स्वागत गर्नु भएको थियो।




