HomeUncategorizedकमलमा विद्यालय शिक्षकका लागि आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न

कमलमा विद्यालय शिक्षकका लागि आँखा स्वास्थ्य शिक्षा तालिम सम्पन्न

Date:

झापा। मेची आँखा अस्पतालको आयोजना, आइ केयर फाउण्डेशनको आर्थिक सहयोग र कमल गाउँपालिकाको सहकार्यमा “विद्यालय शिक्षकहरूका लागि आँखा स्वास्थ्य शिक्षा तालिम” सम्पन्न भएको छ।

आज मिति २०८२ साल कार्तिक २४ गते कमल गाउँपालिका–५ स्थित श्री मंगलमय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न उक्त तालिममा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यालय तहका शिक्षकहरूलाई आँखा स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्दै विद्यालय स्तरमै दृष्टि संरक्षण र प्रारम्भिक समस्या पहिचानमा सक्षम बनाउनु रहेको बताइएको छ।

यसअघि नै कमल गाउँपालिका र मेची आँखा अस्पतालबीच विद्यालयका विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गर्ने सम्झौता भइसकेको र सोही सम्झौताअनुसार आजको तालिम सञ्चालन गरिएको हो।

स्वास्थ्य शिक्षा प्रशिक्षक युवराज बोहोराले तालिममार्फत शिक्षकहरूलाई आँखा स्वास्थ्यको आधारभूत ज्ञान प्रदान गरी विद्यालयमै प्रारम्भिक परीक्षण गर्न सक्ने क्षमता विकास गराउने उद्देश्य रहेको जानकारी दिनुभयो।

तालिमका सहजीकरणकर्ता बोहोरा र नेत्र अधिकृत पुण्यप्रसाद अधिकारीले आँखा स्वास्थ्यका आधारभूत जानकारी, विद्यार्थीमा देखिन सक्ने सामान्य दृष्टि समस्या, प्रारम्भिक परीक्षण विधि र अस्पताल पठाउनुपर्ने अवस्थाबारे विस्तृत प्रशिक्षण प्रदान गर्नुभयो।

उनीहरूले शिक्षकहरूलाई विद्यार्थीको दृष्टि र प्रकाश व्यवस्थापनमा ध्यान दिन, अत्यधिक डिजिटल उपकरण प्रयोगले दृष्टिमा पार्ने असरबारे सचेत रहन र विद्यार्थीलाई स्वस्थ दृष्टि व्यवहार सिकाउन सुझाव दिनुभयो।

प्रशिक्षकका अनुसार तालिमपछि मेची आँखा अस्पतालको आठ सदस्यीय स्वास्थ्यकर्मी टोलीले गाउँपालिकाभित्रका विद्यालयमा पुगेर विद्यार्थीहरूको आँखा परीक्षण गर्नेछ।
दृष्टि समस्या पाइएको विद्यार्थीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिनेछ भने जटिल समस्या भएकालाई अस्पतालमा रेफर गरी आवश्यक अपरेशनमा छुट वा निःशुल्क सेवा प्रदान गरिनेछ।

गरिब तथा निम्न आय वर्गका विद्यार्थीहरूको निःशुल्क उपचारका लागि पनि विशेष व्यवस्था गरिएको कमल गाउँपालिकाले जनाएको छ। पालिकाको सिफारिसपछि त्यस्ता विद्यार्थीको अपरेशन निःशुल्क रूपमा गरिनेछ।

कार्यक्रमको समापन सत्रमा मंगलमय माविका प्रधानाध्यापक मोहन बगालेले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै शिक्षकहरूलाई विद्यार्थी लक्षित आँखा परीक्षण कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी शिक्षकहरूले पनि तालिमबाट अत्यन्त उपयोगी ज्ञान प्राप्त भएको बताउँदै आगामी स्वास्थ्य साक्षरता कार्यक्रममा निरन्तर सहभागिता जनाउने प्रतिवद्धता जनाए।

समापनमा कमल गाउँपालिका शिक्षा शाखाका अधिकृत रविन गौतमले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै विद्यालयहरूले यस्ता व्यवहारिक स्वास्थ्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागीहरूको उत्साह, विद्यालय प्रशासनको सहयोग र स्थानीय निकायको समन्वयले यसलाई सफलताको रूपमा लिइएको छ।

कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार यो तालिम विद्यालय शिक्षकहरूलाई आँखा स्वास्थ्यका क्षेत्रमा सचेत बनाउँदै विद्यार्थीहरूको दृष्टि संरक्षण र रोगको प्रारम्भिक पहिचानमा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमका रूपमा लिइएको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here