HomeUncategorizedकमलमा जनस्तरबाट आदिवासी रंगशाला निर्माणको घोषणा

कमलमा जनस्तरबाट आदिवासी रंगशाला निर्माणको घोषणा

Date:

झापा । झापाको कमल गाउँपालिका–५ मा निर्माणाधीन आदिवासी रंगशालालाई राज्यले उपेक्षा गरेको भन्दै सरोकारवालाले अब जनस्तरबाट निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

शनिबार आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानद्वारा आयोजित अन्तरक्रियामा सहभागीहरूले राज्यको विभेदका कारण परियोजना अलपत्र परेको उल्लेख गर्दै, जनस्तरीय पहलमार्फत कार्य अघि बढाउनुपर्नेमा जोड दिए।

रंगशाला समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पितापूर्खाको चिहानमाथि राजनीति हुँदा परियोजना प्रभावित भएको आरोप लगाए। उनले स्वदेश तथा विदेशमा रहेका नेपाली, खेलप्रेमी र शुभचिन्तकहरूको सहयोगमा रंगशाला निर्माण पूरा गर्ने घोषणा गरे।

यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलीप राई, किरात राई यायोक्खा कोशी प्रदेश अध्यक्ष पारषमणि राईलगायतले आदिवासी रंगशालालाई पहिचानको मुद्दा भन्दै अभियानलाई देश–विदेशमा फैलाएर अघि बढाउनुपर्ने धारणा राखे।

बैठकले जातीय संस्था, खेलकुद क्लब र चिहान परिवारसहित सरोकारवालासँग निरन्तर अन्तरक्रिया गर्दै जनस्तरीय अभियानलाई तीव्रता दिने निर्णय गरेको महासचिव दिपेनवाला राईले जानकारी दिए।

कार्यक्रममा माओवादी केन्द्र कमलका अध्यक्ष रविन गुरुङ, किरात राई यायोक्खा कमलका पूर्व अध्यक्ष सन्तोष राई, महिला नेतृ विष्णुमाया भट्टराई, कमल–५ की वडा सदस्य चन्द्रकला सुब्बालगायतको उल्लेखनीय सहभागिता थियो।

संघीय र प्रदेश सरकारले आवश्यक बजेट नदिँदा रंगशाला निर्माण कार्य अलपत्र रहेको सरोकारवालाको भनाइ छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here