
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–१२ बाट प्रहरीले ठूलो परिमाणको लागू औषध बरामद गर्दै एक फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ।
कार्तिक ३० गते फार्मेसीमार्फत प्रतिबन्धित औषधि बिक्री–वितरण भइरहेकाे विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको टोलीले नसिव फार्मेसी सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीको घरमा छापा मारेको थियो।
खानतलासीका क्रममा प्लास्टिकको बोरामा लुकाइ–छिपाइ राखिएको अवस्थामा प्रतिबन्धित औषधि ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधि डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ।
लागू औषधको ठूलो परिमाण बरामद भएको पुष्टि भएपछि चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


