HomeUncategorizedइक्वेडरका राष्ट्रपति डानियल नोबोआ सवार गाडीमा ढुंगामुढा

इक्वेडरका राष्ट्रपति डानियल नोबोआ सवार गाडीमा ढुंगामुढा

Date:

इक्वेडरका राष्ट्रपति डानियल नोबोआ सवार गाडीमा ढुंगामुढा भएको छ।

मंगलबार कनार राज्यको नाबोन नजिकै उनी सवार गाडीमा ढुंगामुढा भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार राष्ट्रपति नोबोआ त्यहाँ पूर्वाधार परियोजना घोषणा कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रदर्शनकारीहरूले उनी सवार गाडीमा ढुंगामुढा गरेका हुन्। उनको सवारीमा करिब ५ सय जनाको समूहमा रहेको प्रदर्शनकारीले सडकको दायाँबायाँबाट गाडीमा ढुंगामुढा गरेका थिए।

राष्ट्रपति कार्यालयले गाडीमा ढुंगामुढा भएको भिडिओ पनि सार्वजनिक गरेको छ।

भिडिओमा सडक किनारमा भीडले कार्केडमा ढुंगा हानिरहेको देखिन्छ। अर्को क्लिप्समा गाडीको सिसा फुटेको र अगाडिको विन्डस्क्रिन चर्किएको देखिन्छ। घटनामा राष्ट्रपति नोबोओ भने सुरक्षित छन्।

पर्यावरण तथा ऊर्जामन्त्री इनिस मान्जानोले यो घटनालाई राष्ट्रपतिको हत्या प्रयास भन्दै उजुरी दिएकी छन्।

उनका अनुसार घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

राष्ट्रपति नोबोआको कार्यालयले पक्राउ परेकालाई आतंकवाद र हत्या प्रयाससम्बन्धी अभियोगमा कारबाही अघि बढाइने जनाएको छ।

राष्ट्रपति सवार गाडीमा गोली हानिएको समेत भनिएको छ। तर त्यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

नोबोआमाथि आक्रमण भएको केही घण्टापछि उनले दक्षिणी शहर कुएन्कामा विद्यार्थी कार्यक्रमलाई सम्बोधन गरेका थिए।

सम्बोधन क्रममा उनले आफूमाथि आक्रमण गर्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए।

‘जसले हामीलाई यहाँ आउन रोक्ने प्रयास गरे, ती देशका लागि खराब उदाहरण हुन्। यस्तो कार्य नयाँ इक्वेडरमा स्वीकार्य हुँदैन, कानुन सबैका लागि बराबर लागू हुन्छ,’ उनले भने।

मन्त्री मान्जानोले पनि आक्रमणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आपराधिक घटनामा संलग्नहरू कसैले छुट नपाउने बताइन्।

‘राष्ट्रपतिका गाडीमा गोली चलाउने, ढुंगा हान्ने, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने सबै अपराध हुन्। यसरी चल्दैन,’ उनले भनिन्।

राष्ट्रपति सवार गाडीमा ढुंगामुढा भएको घटनाबारे इक्वेडरको राष्ट्रिय आदिवासी संघले भने प्रहरी र सैनिकले प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेपछि स्थिति अनियन्त्रित भएको बताएको छ।

‘हाम्रो आन्दोलनमा सहभागी वृद्ध महिलामाथिसमेत अमानवीय बल प्रयोग भयो,’ संघले एक्समा लेखेको छ।

संघले पाँच जना प्रदर्शनकारीलाई अनधिकृत रूपमा पक्राउ गरिएको दाबी गर्दै उनीहरुको रिहाइको माग गरेको छ।

Latest stories

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here