
काठमाडौं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले बिहीबार एक महिना पूरा गर्दैछ । यही परिवेसमा आज राजधानीमा जेन-जीका शहीद परिवारको आवाज बुलन्द गर्ने भएको छ ।
जेन-जीहरुले राजधानीमा एक कार्यक्रम गरी शहीद पविवारको आवाज राख्न लगाउने भएका हुन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जेनजी अभियानता अबिन लिम्बू जेन-जी आन्दालन पूरा भएको एक महिनाको अवसरमा जेन-जीहरुको राष्टिय भेला गर्ने बताउनु भयो ।
भेला दुई दिन हुनेछ । पहिलो दिन जेन-जी आन्दोलनको क्रममा शहीद भएका परिवारहरुको पीडा, उनीहरुले आवाज राख्ने जनाइएको छ, जहाँ देशभरबाट तीन सय ५० जेन-जीहरु सहभागी हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा जेन-जी आन्दोलनमा घाइते भएकामध्ये एक दिनेश नेपालीले जेन-जीलाई एकताबद्ध गर्न राष्टिय भेला आयोजना गरेको जनाए । यसका लागि आफूहरुले यसअघि नै जेन-जी २ नाममा समूह बनाएको उनले जनाए । यही समूहबाट राष्टिय सम्मेलनमा सहभागी हुन चाहने जेन-जीहरुको लागि यसअघि नै इलेटिकल रुपमा फारम भरेर सहभागिता फारम बुझिसकेको जानकारी उनले गराए । यसमा देशभरका सातै प्रदेशबाट तीन सय ५० जेन-जीहरु सहभागी हुने उनले सुनाए ।
‘भेलाको मुख्य उद्देश्य शहीद परिवारहरूका लागि आवाज उठाउने साझा मञ्चको रूपमा आफूलाई स्थापित गर्ने योजना हो,’ उनले भने । पहिलो दिन जेन-जीका अगुवा भनेर नाम चलेका सुधन गुरुगलगायतका नेताहरुसहित जेन-जी अगुवाहरुलाई पनि अतिथिको रुपमा आमन्त्रण गरेको उनले सुनाए । तर उनीहरु मात्रै श्रोताको रुपमा रहने र कार्यक्रममा शहीद परिवारले मात्रै बोल्न पाउने योजना राखेको उनले बताए ।
दोस्रो दिन अजोज २४ गते भने बृहत छलफल गर्ने, छलफलबाट आफूहरुको एकता थप मजबुत बनाउने, त्यसको लागि सातै प्रदेशमा प्रदेशस्तरीय रुपमा समूह बनाइने एकतावद्ध हुने, संयुक्त मुल आवाज वा मागहरु बनाउने योजना रहेको पत्रकार सम्मेलनमा जनाइयो । भेलाको निर्णयबारे अर्को दिन राजधानीमै पत्रकार सम्मेलन गरी त्यसलाई सार्वजनिक गरिने पत्रकार सम्मेलनमा जनाइयो ।
पत्रकार सम्मेलनमा घाइते नेपालीसहित अन्य आधा दर्जन युवा नेताहरुले आआफनो धारणा राखेका थिए । आन्दोलनका अगुवाहरूका अनुसार भेलाको मुख्य उद्देश्य शहीद परिवारले भोग्दै आएका पीडा र बेवास्ता विरुद्ध आवाज उठाउनु हो । भेलाले जेन-जीहरु एकतावद्ध हुने तर अध्यक्ष, उपाध्यक्ष भनेर पदाधिकारी बनाउने योजना नरहेको उनीहरुले सुनाए ।
जेन-जी आन्दोलन कुनै दल वा संगठनको नभई स्वतःस्फूर्त जनआन्दोलनको स्वरूपमा अघि बढेको थियो । नेपालमा पछिल्ला वर्षहरूमा उठेका सामाजिक र राजनीतिक आन्दोलनमध्ये “जेन-जी आन्दोलन” अहिले सर्वाधिक चर्चाको केन्द्र छ । एक महिनाअघि सुरु भएको यो आन्दोलन अहिले देशभर फैलँदै शहीद परिवार र पीडित वर्गको न्यायको आवाज बुलन्द बनाउँदै गएको छ ।
गत एक महिनामा आन्दोलनले प्रशासकीय दबाब, जनसमर्थन र अन्तर्राष्ट्रिय मिडियाको ध्यानसमेत आकर्षित गरेको थियो । यो प्रदर्शनमा अहिलेसम्म ७६ जनाले ज्यान गुमाइसकेका छन् । भौतिक संरचना पनि उत्तिकै क्षति भएको छ ।

