
भुम्लु । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङमा स्थानीय जनतासँगको भेटघाटपछि काभ्रे क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईले निर्वाचित भएपछि पार्टीको निर्देशन र जनताले राखेका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सोमबार कोशीपारि क्षेत्रस्थित सापिङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उहाँले सधैं जनताको साथमा रहेर विकास निर्माण तथा समृद्ध समाज निर्माणको महाअभियानमा अग्रसर रहने बताउनुभयो। “फागुन २१ गतेसम्म मलाई विजयी गराउने जिम्मा तपाईँ जनताको हो, त्यसपछि प्रतिनिधिसभा सदस्यका रूपमा जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी मैले लिनेछु,” उहाँले भन्नुभयो।
उहाँले विगतमा २१ वर्षको उमेरमै तत्कालीन कलाँती भूमेडाँडा गाविस अध्यक्षमा निर्वाचित भएर गरेका कामको मूल्याङ्कन स्वरूप तत्कालीन जिविसबाट पटक–पटक सम्मानित भएको स्मरण गर्नुभयो। साथै बागमती प्रदेशसभा सदस्य हुँदै प्रदेश कृषि मन्त्रीका रूपमा काम गर्दा अघि सारेका योजनाहरू सफल भएको र ती उपलब्धि जनताको हितमा केन्द्रित रहेको उहाँको भनाइ थियो।
आगामी दिनमा विकास निर्माणलाई तीव्रता दिने, प्रभावकारी कानुन निर्माणमार्फत देशलाई समृद्ध बनाउने र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि ईमान्दारीपूर्वक काम गर्दै हरेक हप्ताको एक दिन एउटा वडामा पुगेर अनिवार्य श्रमअभियान सञ्चालन गर्ने योजना समेत उहाँले सार्वजनिक गर्नुभयो।
सम्बन्धित वडा तथा पार्टी कमिटीसँगको समन्वयमा अभियान अघि बढाइने र जनतासँग प्रत्यक्ष जोडिएर काम गरिने उहाँको भनाइ थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय, बागमती प्रदेश, जिल्ला तथा पालिकास्तरका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

